पार्टी एकतापछि नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पार्टी एकतापछि नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ । २५ वटा विभिन्न राजनीतिक समूह तथा घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी स्रोतका अनुसार ऐतिहासिक एकतापछि बस्न लागेको पहिलो केन्द्रीय समिति बैठक सोमबार अपराह्न ४:३० बजे भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ। पार्टीका नेता रामकुमार भट्टराईले बैठक अनलाइन माध्यमबाट हुने जानकारी दिएका छन्।

बैठकका लागि मुख्य एजेन्डा पनि तय भइसकेको छ। बैठकमा पार्टीको नियमावली तथा कार्यविधि अनुमोदन गर्ने प्रमुख कार्यसूची रहेको भट्टराईले बताएका छन्। साथै, पार्टी संगठनलाई व्यवस्थित बनाउने र आगामी गतिविधिबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

२५ वटा राजनीतिक समूह तथा घटकहरू एकीकृत भएर नयाँ स्वरूपमा गठन भएको नेकपाको यो पहिलो केन्द्रीय समिति बैठक भएकाले राजनीतिक वृत्तमा यसलाई विशेष महत्वका साथ हेरिएको छ। बैठकबाट पार्टीको संगठनात्मक संरचना र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गर्न सक्ने पनि नेताहरुले बताएका छन् ।