धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले अध्यक्ष भट्टलाई शपथ गराएका हुन्।
गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्षलाई पुँजीबजार सुधार, लगानीकर्ताको हित संरक्षण तथा बजारमा विश्वास अभिवृद्धि गर्ने दिशामा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए।
उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावबाट टाढा रही साना तथा ठूला सबै लगानीकर्ताको हित सुरक्षित गर्न आग्रह गरे। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिन बोर्डले प्रभावकारी नियामकीय भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिँदै मन्त्रालयमा नियमित रूपमा प्रगति विवरण प्रस्तुत गर्न आग्रह गरे। बजारमा फैलाइने अनावश्यक हल्ला र अफवाहका कारण साना लगानीकर्ता प्रभावित हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गरी बजारमा विश्वास कायम गर्नुपर्ने उनको भनाइ थियो।
“धेरै बोलेर होइन, काम गरेर देखाउनुहोस्। पुँजीबजार सुधारका योजनालाई समयसीमाभित्र कार्यान्वयन गर्दै नियामक निकायको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने। उनले मन्त्रालयबाट बोर्डको काममा कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै हरेक हप्ता बजारको अवस्थाबारे जानकारी गराउन पनि निर्देशन दिए।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकारको नीति र अर्थमन्त्रीको निर्देशनअनुसार पुँजीबजारको विकास तथा लगानीकर्ताको हित संरक्षणमा पूर्ण इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नो ज्ञान, अनुभव र दक्षतालाई बजार सुधार तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रयोग गर्ने उल्लेख गर्दै उनले विगतमा भएका अध्ययन तथा सुझावलाई कार्यान्वयन गर्दै पुँजीबजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने बताए।







