राष्ट्रिय धान दिवसमा प्रचण्डको आग्रह : किसानमैत्री नीति अपनाई कृषि उत्पादन बढाउन सरकारलाई ध्यानाकर्षण

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रिय धान दिवसमा प्रचण्डको आग्रह : किसानमैत्री नीति अपनाई कृषि उत्पादन बढाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले किसानमैत्री नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रोपाइँको मुख्य समयमा समेत किसानहरूले मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गरेका छन्।

“रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्,” प्रचण्डले भनेका छन्। “त्यसैले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

उनले कृषि नेपाली अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने बताए। प्रचण्डले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको सहज पहुँच सुनिश्चित गर्न प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।