एमाले युवाद्वारा पार्टी पुनर्गठनका लागि स्वतन्त्र मत सर्वेक्षण अभियान सुरु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमाले युवाद्वारा पार्टी पुनर्गठनका लागि स्वतन्त्र मत सर्वेक्षण अभियान सुरु

काठमाडौ । नेकपा एमालेका युवाहरूले पार्टीको पुनर्गठन, रूपान्तरण र पुस्तान्तरणबारे कार्यकर्ताको धारणा संकलन गर्न स्वतन्त्र मत सर्वेक्षण अभियान सुरु गरेका छन्।

अभियानमा संलग्न युवाहरूले पार्टीले गठन गरेको पुनर्गठन कार्यदलले सीमित नेताहरूसँग मात्र सुझाव लिएको दाबी गर्दै व्यापक कार्यकर्ता र शुभेच्छुकको राय समेट्ने उद्देश्यले छुट्टै सर्वेक्षण थालेको बताएका छन्। सर्वेक्षणमा पार्टीको विभिन्न तहको नेतृत्वबारे धारणा, कुन कमिटीका नेताले नेतृत्व सम्हाल्नुपर्ने, समयअघि महाधिवेशन (अर्ली महाधिवेशन) आवश्यक छ वा छैन लगायतका विषय समेटिएका छन्।

अभियानकर्ताहरूले एमालेको रूपान्तरण, पुनर्संरचना र पुस्तान्तरणलाई केवल नाराका रूपमा नभई राष्ट्रियता, स्वाधीनता र समृद्धिसँग जोडिएको दीर्घकालीन राजनीतिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्।

उनीहरुले वर्तमान चुनौतीका बीच पार्टीको नेतृत्व, संगठन र कार्यशैलीमा समयानुकूल परिवर्तन गरेर मात्रै एमालेलाई थप सशक्त बनाउन र नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिने उल्लेख गरेका छन् ।