समाजवादी क्रान्तिका लागि ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ आवश्यक : झलनाथ खनाल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of समाजवादी क्रान्तिका लागि ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ आवश्यक : झलनाथ खनाल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान राजनीतिक र सामाजिक परिवेशअनुसार नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको बताएका छन्।

सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२ औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले नयाँ जनवादी क्रान्तिको पुरानै कार्यक्रमका आधारमा समाजवादी क्रान्ति सफल बनाउन नसकिने धारणा राखे।

उनले समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र–शत्रु तथा अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भइसकेकाले कम्युनिष्ट आन्दोलनले पनि नयाँ वैचारिक कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याए। अबको युग समाजवादी क्रान्तिको भएकाले त्यसअनुसारको नयाँ कार्यक्रम र दृष्टिकोण विकास गर्नुपर्ने उनको भनाइ थियो।

खनालले आफूले लेखेको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकले यही वैचारिक बहसलाई अघि बढाउने प्रयास गरेको उल्लेख गर्दै नेपालका कम्युनिष्ट शक्तिहरूले वैज्ञानिक समाजवादको साझा कार्यक्रम तय गर्नुपर्ने समय आएको बताए।

मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार संसारका सबै वस्तु, संस्था र व्यवस्थाको उत्पत्ति र अन्त्य हुने भन्दै उनले राजनीतिक दलहरू पनि त्यसबाट अलग नरहने धारणा व्यक्त गरे। उनका अनुसार आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थामा आधुनिक राजनीतिक दलको अस्तित्व थिएन भने पुँजीवादको विकाससँगै वर्गीय राजनीतिक दलहरूको उदय भएको हो।

खनालले कम्युनिष्ट पार्टीका तीन ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै जनवादी क्रान्ति सम्पन्न गर्ने, समाजवादी क्रान्ति सम्पन्न गर्ने र समाजवाद निर्माण गर्दै समाजलाई साम्यवादसम्म पुर्‍याउने कार्य नै पार्टीको मूल दायित्व भएको बताए। ती उद्देश्य पूरा भएपछि कम्युनिष्ट पार्टीको आवश्यकता पनि स्वतः समाप्त हुने उनको भनाइ थियो।

उनले वर्तमान पुँजीवादी व्यवस्थाले भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता संरचनात्मक समस्या समाधान गर्न नसकेको दाबी गर्दै समाज रूपान्तरणका लागि वैज्ञानिक समाजवाद उपयुक्त विकल्प भएको तर्क गरे।