सामाखुसीमा युवकमाथि खुकुरी प्रहार, दुई साता बित्दा पनि आक्रमणकारी फरार

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सामाखुसीमा युवकमाथि खुकुरी प्रहार, दुई साता बित्दा पनि आक्रमणकारी फरार

काठमाडौ । काठमाडौंको सामाखुसीस्थित सार्वजनिक पार्किङ क्षेत्रमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा संलग्न व्यक्तिको पहिचान दुई सातासम्म पनि हुन नसकेको प्रहरीले जनाएको छ।

रुकुम पश्चिम घर भएका २२ वर्षीय टोपजंग ओलीमाथि असार २ गते अज्ञात समूहले खुकुरी प्रहार गरेको हो। गम्भीर घाइते उनलाई अहिले वसुन्धरास्थित ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट ओलीको टाउकोको बायाँ भाग र हातमा गम्भीर चोट लागेको छ।

अनुसन्धानका क्रममा एक मोटरसाइकलमा आएका युवाले नम्बर प्लेट छोपेर योजनाबद्ध रूपमा आक्रमण गरेको देखिएको बताइएको छ। सीसीटीभी फुटेजमा आक्रमणपछि पीडित पार्किङस्थलमै ढलेर छटपटाइरहेको देखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार यो घटना व्यक्तिगत वा पारिवारिक रिसइबीका कारण योजनाबद्ध रूपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। आक्रमणकारी अझै फरार रहेकाले प्रहरीले विभिन्न सीसीटीभी फुटेज तथा प्राविधिक विश्लेषणमार्फत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले घटना गम्भीर रूपमा अनुसन्धान भइरहेको र आक्रमणकारीको पहिचानका लागि प्रयास जारी रहेको जानकारी दिए। पीडितका आफन्तले काठमाडौंजस्तो निगरानी प्रणाली भएको क्षेत्रमा समेत आक्रमणकारी पक्राउ नपर्नु सुरक्षा निकायको कमजोरी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।