पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको बाटो खुल्यो, मेडिकल कलेजमा थप २ हजार विद्यार्थीले अध्ययन गर्न पाउने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको बाटो खुल्यो, मेडिकल कलेजमा थप २ हजार विद्यार्थीले अध्ययन गर्न पाउने

काठमाडौ । एक सय वा सोभन्दा बढी शैया क्षमता भएका मेडिकल कलेजले पुनः पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनसँगै विगत ६ वर्षदेखि रोकिएको कार्यक्रम सञ्चालनको बाटो खुलेको हो।

यसअघि उच्च अदालत पाटनले कानुनअनुसार पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा कुनै कानुनी अवरोध नरहेको फैसला सुनाए पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन। त्यसपछि चिकित्सा शिक्षा आयोगका पूर्व सदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै निर्देशनालयमा निवेदन दिएका थिए।

निर्देशनालयले उच्च अदालतको फैसला कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै त्यसको जानकारी निर्देशनालयमा पठाउन आदेश दिएको छ। यससँगै आवश्यक मापदण्ड पूरा गरेका १०० वा सोभन्दा बढी बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। यो निर्णयपछि देशभर थप करिब २ हजार विद्यार्थीले पीसीएल नर्सिङ अध्ययन गर्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

चिकित्सा शिक्षा आयोगले २०७७ साउन ३० गते एउटै संस्थाले बीएन, बीएस्सी नर्सिङ वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि अधिकांश शिक्षण संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो। उक्त निर्णय चिकित्सा शिक्षा ऐनको व्यवस्था विपरीत रहेको दाबी गर्दै आयोगको निर्णय खारेज गर्न उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो।

अदालतले गत वर्ष कानुनमा यस्तो प्रतिबन्धको व्यवस्था नरहेको ठहर गर्दै पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा कुनै रोक नलगाउन आदेश दिएको थियो।