त्रिविद्वारा आंगिक क्याम्पसलाई विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of त्रिविद्वारा आंगिक क्याम्पसलाई विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गर्दै सरकारको निर्णयअनुसार क्याम्पस तथा विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो।

उच्च शिक्षा क्षेत्र सुधारका लागि दलीय हस्तक्षेप घटाउने, विद्यार्थीको वास्तविक आवाज समेट्ने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित उक्त निर्णय कार्यान्वयन गर्न भनिएको छ। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनका आधारमा त्रिविले यो सूचना जारी गरेको हो।

निर्देशनअनुसार विश्वविद्यालय तथा क्याम्पसहरूमा रहेका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउनुपर्नेछ भने ९० दिनभित्र विद्यार्थी प्रतिनिधित्वका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक संयन्त्र स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्रिविले जारी गरेको सूचनामा भनिएको छ, “सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिन्छ।” यो निर्णय कार्यान्वयनसँगै विश्वविद्यालयमा विद्यार्थी प्रतिनिधित्वको परम्परागत संरचनामा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ।