बाढी, पहिरो र मर्मतका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढी, पहिरो, सडक मर्मत तथा लगातारको वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म केही सडक पूर्ण रूपमा बन्द रहेका छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा पहिरो खसेपछि त्यहाँ पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा काठमाडौं–नेपालथोक–कटुन्जे सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर–४ महालक्ष्मी क्षेत्रमा पर्ने कुलेखानी–फाखेल–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक करिब एक महिनासम्म बन्द रहने जनाइएको छ।
यस्तै, रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल मर्मतका कारण असार १७ गतेसम्म पूर्ण रूपमा बन्द गरिएको छ। मकवानपुरको बकैया गाउँपालिका–१२ बिङ्गन क्षेत्रमा कान्तिलोकपथ पहिरोका कारण अवरुद्ध छ भने ललितपुरको बागमती गाउँपालिका–३ छम्पी क्षेत्रमा पर्ने भट्टेडाँडा–हेटौंडा सडकखण्ड पनि वर्षाका कारण बन्द रहेको छ।
काभ्रेको रोशी गाउँपालिका–११ कालढुंगा क्षेत्रमा बाढीका कारण बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ दुड्खोला क्षेत्रमा पहिरो खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







