नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौ । मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। रोमाञ्चक सुटआउटमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। उनले एक महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीको जित सुनिश्चित गरे।

मोरक्कोका लागि सौफियान रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे। नेइल एल आइनाउइको प्रहार बाहिरिएको थियो भने कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सफल भए। जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने क्विन्टन टिम्बरको प्रहार बाहिरियो। क्राइसेन्सियो समरभिलको प्रहार भने गोलकिपर बोनोले उत्कृष्ट रूपमा बचाए।

त्यसअघि ग्वाडालाजारा स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले ७२औँ मिनेटमा कोडी गाक्पोको गोलमार्फत अग्रता लिएको थियो। उनले क्राइसेन्सियो समरभिलको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

तर अन्तिम समयमा अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्सले बराबरी गोल व्यहोर्नुपर्‍यो। इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओपले चेम्सडाइन ताल्बीको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

त्यसपछि अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ मोरक्को विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।