कांग्रेस इतर समूहको लुम्बिनी प्रदेशस्तरीय भेला आज
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको इतर समूहले आज लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गर्दै छ। यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको लमहीमा हुने तय गरिएको छ।
विशेष महाधिवेशनपछि पार्टीबाहिर रहेका तथा निष्क्रिय बनेका नेता–कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा जोड्ने, संगठनभित्र एकता सुदृढ गर्ने तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले इतर समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको थियो।
यसअघि ६ वटा प्रदेशमा भेला सम्पन्न गरिसकेको समूहले मंगलबार लुम्बिनी प्रदेशको भेला आयोजना गर्दै सातै प्रदेशको कार्यक्रम पूरा गर्न लागेको हो। भेलामा विशेष महाधिवेशनको पक्षमा नउभिएका लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने जनाइएको छ।
पार्टी सभापति शेरबहादुर देउवा हाल विदेश भ्रमणमा रहेकाले प्रदेशस्तरीय भेलालगायत समूहका गतिविधिको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले सम्हालिरहेका छन्।







