ट्रम्पको दाबी अस्वीकार गर्दै इरानले भन्यो– दोहामा अमेरिकासँग कुनै वार्ता छैन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै आज कतारको दोहामा अमेरिकासँग कुनै वार्ता नहुने स्पष्ट पारेको छ।
बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनमा पनि अमेरिकी पक्षसँग कुनै पनि स्तरमा वार्ता बैठक तय नभएको बताएका छन्। उनले, ‘अमेरिकी प्रतिनिधिमण्डलको कतार भ्रमण र इरानी प्रतिनिधिमण्डलबीच कुनै सम्बन्ध छैन,’ भन्दै ट्रम्पको दाबीलाई खारेज गरेका छन्।
बीबीसी फारसीका अनुसार इरानका उपविदेशमन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजेम घरिबादीले पनि यस साता अमेरिका–इरानबीच कुनै वार्ता तय नभएको बताएका छन्। यसअघि राष्ट्रपति ट्रम्पले इरानकै अनुरोधमा आज दोहामा अमेरिकी र इरानी प्रतिनिधिबीच वार्ता हुने दाबी गरेका थिए।
यस्तै, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफ र जारेड कुसनर उक्त वार्तामा सहभागी हुने बताएकी थिइन्। तर इरानले त्यस्तो कुनै वार्ताको तयारी वा सहमति नभएको स्पष्ट गरेको छ।







