आज नेपाल र मलेसिया आमनेसामने हुँदै
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खलाको चौथो खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुँदैछन्।
पाँच खेलको सिरिजमा मलेसिया २–१ ले अघि रहेको अवस्थामा नेपालका लागि आजको खेल जित्नु अनिवार्य बनेको छ। हार भए मलेसियाले एक खेल बाँकी रहँदै सिरिज जित्नेछ।
नेपालले पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउँदा १०१ रनमै सीमित भई तीन रनले पराजय व्यहोरेको थियो। दोस्रो खेलमा मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरी ६ विकेटले जित हासिल गरेको थियो।
तर तेस्रो खेलमा १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०७ रनमै समेटिँदा १३ रनले पराजित भयो। कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको टिम नेपालमाथि सिरिज बराबरी गर्न चौथो खेल जित्ने ठूलो दबाब छ।
आजको नतिजाले सिरिजको दिशा नै निर्धारण गर्नेछ। चौथो खेलपछि नेपाल र मलेसियाबीच अन्तिम तथा पाँचौं खेल असोज २२ गते हुने तय भएको छ।







