रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज, नाम सच्याएपछि विवाद
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ।
पार्टीका अनुसार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गते सुरु भएको थियो।
सुरुमा तीन दिनभित्र सम्पन्न गर्ने योजना भए पनि सहमतिको प्रयास र निर्वाचन प्रक्रियाका कारण महाधिवेशन छ दिनसम्म लम्बिएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। बाँकी ५१ जना केन्द्रीय सदस्य भने पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
यसबीच रास्वपाले सार्वजनिक गरेको ९९ सदस्यीय सूचीमा दुई जनाको नाम सच्याएको जनाएको छ। दुई जनाको नाम हटाएर नयाँ दुई जनाको नाम समावेश गरिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। नाम सच्याउने निर्णयको कारण र प्रक्रियाबारे पार्टीभित्र थप छलफल तथा चासो बढेको बताइएको छ।







