मनसुन सक्रिय: बाढी–पहिरोको जोखिम बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेसँगै जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्को अवस्थामा तत्काल उद्धार टोली परिचालन गर्न देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।
एपीएफका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त क्षेत्रमा जनशक्ति र आवश्यक स्रोत–साधनसहितका स्थायी बेस पनि तयारी अवस्थामा राखिएका छन्। विपद्सम्बन्धी सूचना संकलन र उद्धारलाई प्रभावकारी बनाउन एपीएफले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप तथा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
एप वा हटलाइनमार्फत सूचना प्राप्त हुनासाथ नजिकको उद्धार टोली घटनास्थलमा परिचालन गरिने प्रवक्ता कार्कीले जानकारी दिए। यसैबीच, प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनमा विगतको तुलनामा जनशक्ति र प्रविधिको प्रयोगमा सुधार भए पनि नेपालको भौगोलिक अवस्थाका कारण चुनौती अझै कायम रहेको बताए।
उनले स्थानीय तहलाई थप स्रोत–साधन सम्पन्न बनाउन, राजमार्गका जोखिमयुक्त ‘ब्ल्याक स्पट’ सुधार गर्न तथा पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिए। नेपाली सेनाले पनि मनसुनजन्य विपद् व्यवस्थापनका लागि तीन चरणको विशेष कार्ययोजना लागू गरेको जनाएको छ।
सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रो चरणमा स्रोत–साधनसहित पूर्वतैनाथी तथा तेस्रो चरणमा उद्धार, राहत र पुनरावलोकनलाई प्राथमिकता दिइएको छ। सेनाले हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौंमा हेलिकप्टर तयारी अवस्थामा राखेको छ भने धादिङ, चितवन र बारामा बेली ब्रिज पनि स्ट्यान्डबाइ अवस्थामा छन्।
साथै, आपत्कालीन स्वास्थ्य सेवाका लागि मेडिकल किटसहितका फिल्ड अस्पतालहरू पनि तयारी अवस्थामा राखिएको जनाएको छ। सुरक्षा निकायहरूले सर्वसाधारणलाई मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा विपद् सम्बन्धी घटना भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।







