इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।
नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भाडा पनि सोहीअनुसार संशोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो। महासंघका अध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्य बढ्दा भाडा बढाउने तर मूल्य घट्दा समयमै समायोजन नगर्ने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैमा अन्योल सिर्जना हुने गरेको बताए।
उनले स्वचालित भाडा समायोजन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। ‘विगतमा हामीले घाटा सहेर पनि यातायात सेवा सञ्चालन गरेका छौं। सरकारले समयमै निर्णय नगर्दा व्यवसायी नै आलोचनाको केन्द्र बन्नुपरेको छ,’ सिटौलाले भने, ‘अब स्वचालित प्रणालीअनुसार तत्काल भाडा समायोजन गरिनुपर्छ।’
उनले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई सवारी साधन सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत आधार बनाउनुपर्नेमा जोड दिए।
व्यवसायीहरूले पारदर्शी र स्वचालित भाडा निर्धारण प्रणाली कार्यान्वयन भए यात्रु र व्यवसायी दुवै पक्षको हित हुने विश्वास व्यक्त गरेका छन्।







