राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र निष्कासन गर्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र निष्कासन गर्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। यसको साँवा २०८४ असार १७ गते फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोडकै गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्नेछ भने स्वीकृति सबैभन्दा कम ब्याजदरबाट क्रमशः प्रदान गरिनेछ।

स्वीकृत भएको रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुने तथा त्यस्तो संस्थाले छ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा गरिएको लगानी अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना हुने छैन। भने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, ऋणपत्र परिपक्व हुनुअघि साँवा फिर्ता नदिइने र अन्य व्यवस्था प्रचलित कानुनअनुसार हुने जनाइएको छ।