नेपालद्वारा मलेसियामाथि सानदार जित, टी–२० सिरिज २–२ को बराबरीमा

User Image Prime TV News ११ महिना अगाडि
Image of नेपालद्वारा मलेसियामाथि सानदार जित, टी–२० सिरिज २–२ को बराबरीमा

काठमाडौ । अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको छ। अब शृङ्खलाको उपाधि विजेता तय गर्न बुधबार फाइनल खेल हुनेछ।

पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन बनायो।

जवाफमा नेपालले १७ ओभर ३ बलमै लक्ष्य पूरा गर्दै ६ विकेटको सहज जित हात पार्‍यो। नेपालको जितमा कप्तान इन्दु बर्माले नटआउट ४८ रनको महत्त्वपूर्ण योगदान दिइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी थिइन्।

बर्मासँग क्रिज साझेदारी गरेकी रुबिना क्षेत्रीले पनि धैर्यपूर्ण इनिङ्स खेल्दै २३ बलमा नटआउट २३ रनको योगदान दिइन्। यी दुईबीचको अविजित साझेदारी नै नेपालको जितको आधार बन्यो।

यसअघि, नेपालले सिरिजको पहिलो खेलमा ३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनको हारपछि शृङ्खला मलेसियाको पक्षमा जान सक्ने संकेत देखिएको थियो। तर, चौथो खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले शृङ्खलामा पुनः जीवन फर्काएको हो।