इन्धनको मूल्य घटेपछि अधिकांश निजी पेट्रोलपम्प बन्द, सरकारले कारबाही गर्ने चेतावनी

User Image Prime TV News २ हप्ता अगाडि
Image of इन्धनको मूल्य घटेपछि अधिकांश निजी पेट्रोलपम्प बन्द, सरकारले कारबाही गर्ने चेतावनी

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशका अधिकांश निजी पेट्रोलपम्पले बिक्री बन्द गरेका छन्। घटेको मूल्यमा इन्धन बिक्री गर्न अस्वीकार गर्दै पम्प सञ्चालन नगरेपछि उपभोक्ताले सास्ती भोग्नुपरेको छ।

सरकारले मंगलबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटाएको थियो। तर, निजी पम्प सञ्चालकहरूले पुरानो मूल्यमा खरिद गरिएको इन्धनका कारण घाटा हुने भन्दै बिक्री रोकेको जनाइएको छ।

निजी पम्प बन्द भएपछि साझा, नेपाल प्रहरी र नेपाली सेनाद्वारा सञ्चालित पेट्रोलपम्पमा इन्धन भर्न सवारीसाधनको लामो लाइन लागेको छ। उपभोक्ता अधिकारकर्मीहरूले भने मूल्य बढ्ने संकेत पाएपछि इन्धन भण्डारण गर्ने र मूल्य घटेपछि बिक्री रोक्ने प्रवृत्तिलाई उपभोक्तामाथिको अन्याय भएको बताएका छन्।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले यस्तो कार्यलाई गम्भीर उपभोक्ता अधिकार उल्लङ्घन भन्दै संलग्न पम्प सञ्चालक र सूचना चुहाउने जिम्मेवार पक्षमाथि कडा कारबाही गर्न माग गरेका छन्। यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटेको मूल्यमा इन्धन बिक्री नगरी पम्प बन्द गर्ने व्यवसायीमाथि अनुगमन सुरु गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई तोकिएको नयाँ मूल्यमा इन्धन उपलब्ध गराउनु सबै पम्पको दायित्व भएको भन्दै नियम उल्लङ्घन गर्ने पम्प सञ्चालकमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिए।