त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले थापालाई शपथ गराएका हुन्। त्यसै अवसरमा सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका थिए।
शपथपछि अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निष्पक्ष, पारदर्शी र इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
थापाले आफ्नो कार्यकालमा विश्वविद्यालयको शैक्षिक गुणस्तर र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने तथा त्रिविको गौरवशाली इतिहासलाई कायम राख्दै समयानुकूल सुधारका काम अघि बढाउने विश्वास व्यक्त गरे। साथै, आफूलाई आयोगको अध्यक्षको जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरे।
शिक्षामन्त्री पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले आवेदन, योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्याङ्कनपछि तीन जनाको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा त्रिवि सेवा आयोगको अध्यक्षमा थापा नियुक्त भएका हुन् ।







