नेप्से ८.७८ अंकले बढ्यो, कारोबार ४ अर्ब ११ करोड रुपैयाँमाथि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक बिहीबार ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ। आज बजार ०.३३ प्रतिशतले उकालो लागे पनि अधिकांश कारोबार अवधिभर उतारचढाव देखिएको थियो।
आज ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारका क्रममा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूहका सूचक घटेका छन्। बाँकी समूह भने हरियालीमा बन्द भएका छन्।
आज अपर लोहोरे हाइड्रो, कालांगा हाइड्रो, स्नो रिभर, सानिगाड हाइड्रो र धौलागिरि लघुवित्तका शेयरधनीले क्रमशः १५ प्रतिशत, १५ प्रतिशत, १४.९९ प्रतिशत, १४.९७ प्रतिशत र १३.६७ प्रतिशतसम्म नाफा कमाएका छन्।
यता, एनआईसी एशिया बैंक ऋणपत्र २०८५–८६ का लगानीकर्ताले सबैभन्दा बढी १०.६० प्रतिशतले घाटा व्यहोरेका छन्। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। बैंकको ४१ करोड ३२ लाख २४ हजार ६६२ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।







