देउवा समूहको बैठक शुक्रबार, आगामी रणनीतिबारे छलफल हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा समूहका निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक शुक्रबारका लागि बोलाएका छन्।
देउवा समूहका नेता डा. प्रकाशशरण महतका अनुसार गोल्फुटारस्थित खड्काको निवासमा बस्ने बैठकमा सातै प्रदेशमा सम्पन्न भेलाको समीक्षा, विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद तथा त्यसको समाधानका लागि अपनाइने रणनीतिबारे छलफल हुनेछ।
बैठकमा १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको चुनदेवीमा स्थापना गरिएको सम्पर्क कार्यालयलाई औपचारिक रूपमा सञ्चालन गर्ने समय र प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ।डा. महतका अनुसार सम्पर्क कार्यालयमा रंगरोगनलगायतका काम बाँकी रहेकाले शुक्रबारको बैठक खड्काको निवासमै राखिएको हो।
यसअघि बिहीबार देउवा समूहका नेता विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच मध्यबानेश्वरस्थित निधिको निवासमा पार्टीको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको थियो।







