ओयार्जाबाल चम्किँदा स्पेन अन्तिम १६ मा, अस्ट्रियामाथि सहज जित

User Image Prime TV News २ हप्ता अगाडि
Image of ओयार्जाबाल चम्किँदा स्पेन अन्तिम १६ मा, अस्ट्रियामाथि सहज जित

काठमाडौ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्पेनले अस्ट्रियालाई ३–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको लस एन्जलसमा बिहीबार राति भएको खेलमा युरोपेली च्याम्पियन स्पेनका लागि मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे।

सुरुदेखि नै खेलमा दबाब बनाएको स्पेनले बलमाथि नियन्त्रण कायम राख्दै अस्ट्रियालाई खासै अवसर सिर्जना गर्न दिएन। स्पेनले गरेको एक गोल भिडियो सहायक रेफ्री (भीएआर) को निर्णयपछि रद्द भएको थियो भने अर्को प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

स्पेनले खेलको ३६औँ मिनेटमा अग्रता लियो। पेड्रीको पासमा मार्क कुकुरेलाले दिएको क्रसलाई मिकेल ओयार्जाबालले सहजै गोलमा परिणत गरे।

दोस्रो हाफमा अस्ट्रियाले आक्रामक खेल्ने प्रयास गरे पनि स्पेनको रक्षापङ्क्ति मजबुत रह्यो। खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै टोलीको अग्रता २–० बनाए। यो उनको अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।

खेलको ८९औँ मिनेटमा कुकुरेलाकै पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को शानदार जित सुनिश्चित गरे। यो जितसँगै स्पेन अन्तिम १६ मा पुगेको छ। अब स्पेनले अर्को चरणमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।