डा. गोविन्द केसीको २३ औँ सत्याग्रह सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of डा. गोविन्द केसीको २३ औँ सत्याग्रह सुरु

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले धनगढीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका छन् । उनले चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णयको विरोधमा सत्याग्रह सुरु गरेका हुन् ।

आयोगको २१ औँ बैठकले एमबीबीएसमा ४९५ सिट थप गरी कुल सिट संख्या २,६३५ पुर्‍याउने निर्णय गरेको थियो। साथै, बीडीएस (दन्त चिकित्सक) कार्यक्रमको सिट संख्या पनि ६२५ मा पुर्‍याइएको छ।

सरकार र आयोगले शिक्षा क्षेत्रको गुणस्तरमा ध्यान नदिई निजी मेडिकल कलेजहरूलाई फाइदा पुग्ने गरी मनपरी सिट वृद्धि गरेको डा. केसीको आरोप छ । आयोगले १०० सिटको मापदण्ड भएका सबै निजी मेडिकल कलेजलाई १३० सिट तोकेको छ भने, सरकारी मेडिकल कलेजहरूमा भने सिट संख्या यथावत राखिएको छ।

उनी २०६९ सालदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै क्रमिक अनशन बस्दै आएका छन्। उनको दबाबमा नै सरकारले चिकित्सा शिक्षा आयोग गठन गरेको र सिट तथा शुल्क निर्धारणजस्ता नीतिगत व्यवस्था ल्याइएको हो।