राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ। बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ऋणपत्र निष्कासन गर्न लागिएको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म आवेदन संकलन गरिनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने व्यवस्था गरिएको छ।

यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ साल असार १९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा लगानीकर्तालाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा न्यूनतम पाँच करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। त्यसपछि पाँच करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्। स्वीकृत ब्याजदरका आधारमा ऋणपत्रको बाँडफाँट गरिनेछ।

जारी हुने ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। साथै, यो लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यद्यपि यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।