स्वास्थ्य बीमा बोर्डको आग्रह : अनावश्यक स्वास्थ्य परीक्षण नगर्नू, नगराउनू
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राही तथा स्वास्थ्य सेवा प्रदायक संस्थालाई अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन आग्रह गरेको छ। सात महिनायता सेवा प्रदायक संस्थाको भुक्तानी बाँकी रहे पनि उपचार सेवामा कुनै अवरोध नगर्न बोर्डले अनुरोध गरेको हो।
शुक्रबार जारी विज्ञप्तिमा बोर्डले हालसम्म आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको दाबी रकम मात्रै भुक्तानी गरिएको जनाएको छ। त्यस अवधिसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाको बक्यौता फरफारक भइसकेको बोर्डको भनाइ छ।
बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई कुल रु २३ अर्ब ४४ करोड २ लाख ९८ हजार भुक्तानी गरिएको छ। मंसिरपछिको दाबी रकम भने सरकारबाट आवश्यक बजेट विनियोजन भएपछि मात्रै भुक्तानी गरिने जनाएको छ।
बोर्डले मंसिरयताका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि उल्लेख गरेको छ। भुक्तानी बाँकी रहेको अवस्थामा पनि बीमितलाई उपचार सेवा दिन कुनै अवरोध नगर्न र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन बोर्डले सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ।
साथै, बीमित सेवाग्राहीलाई आवश्यकताभन्दा बढी स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक परीक्षण वा उपचारका लागि दबाब नदिन पनि बोर्डले अनुरोध गरेको छ।








