सुस्तावासीको आन्दोलन जारी, प्रधानमन्त्रीसँग वार्ताको माग गर्दै माइतीघरमा धर्ना

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुस्तावासीको आन्दोलन जारी, प्रधानमन्त्रीसँग वार्ताको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौ । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौंमा आन्दोलनलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्रीसँग प्रत्यक्ष वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ।

सुस्ताबाट ५० भन्दा बढीको टोली काठमाडौं आएर मंगलबारदेखि आन्दोलनमा उत्रिएको हो। उनीहरूले भूमि संरक्षण, वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई नागरिकता वितरण तथा लालपुर्जा उपलब्ध गराउनुपर्ने तीन प्रमुख माग अघि सारेका छन्।

बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटवार्ता गरेका आन्दोलनकारीले बिहीबार विश्राम गरे पनि आफ्ना मागमा ठोस प्रगति नभएको भन्दै शुक्रबार पुनः माइतीघर मण्डलामा धर्ना दिएका छन्। आन्दोलनका संयोजक बाबु खाँले प्रधानमन्त्रीसँग प्रत्यक्ष वार्ता नभएसम्म आन्दोलन जारी रहने बताए।

उनका अनुसार गृहमन्त्रीसँगको छलफलमा सुस्ता सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने आश्वासन प्राप्त भए पनि नागरिकता र लालपुर्जाको विषयमा प्रधानमन्त्रीसँगै निर्णय हुनुपर्ने उनीहरूको अडान छ। सुस्तामा करिब ३२० घरधुरी बसोबास गर्दै आएको र तीमध्ये करिब १२० परिवार अझै नागरिकताविहीन रहेको आन्दोलनकारीहरूको दाबी छ।

सुस्ता बचाउ अभियानका अध्यक्ष तथा वडा सदस्य आदम खाँले तत्कालीन सरकारले बसाएका केही परिवारका सदस्यसमेत अहिलेसम्म नागरिकता र लालपुर्जाबाट वञ्चित रहेको बताए। सुस्ता क्षेत्रको सीमा विवाद दशकौँदेखि कायम छ। २०२२ सालमा तत्कालीन राजा महेन्द्रले भारतीय अतिक्रमण रोक्न त्यहाँ ८४ परिवार बसालेका थिए। तर, २०३४ सालको बाढीपछि नारायणी नदीको धार परिवर्तन हुँदा सीमा निर्धारणको विषय विवादित बनेको हो।

नेपालले नदीको पुरानो धारलाई अन्तर्राष्ट्रिय सीमा मान्दै आएको छ भने भारतले हालको नदीको बहावलाई आधार मान्ने गरेको छ। यही मतभेदका कारण सुस्ता क्षेत्रको सीमा विवाद अझै समाधान हुन सकेको छैन। आन्दोलनकारीहरूले सीमा सुरक्षासँगै नागरिकताको अधिकार र जग्गाको स्वामित्व सुनिश्चित गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग दोहोर्‍याएका छन्।