सार्वजनिक यातायातको रङ होइन, सेवा सुधार आवश्यक : योगेश भट्टराई

User Image Prime TV News २ हप्ता अगाडि
Image of सार्वजनिक यातायातको रङ होइन, सेवा सुधार आवश्यक : योगेश भट्टराई

काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सार्वजनिक यातायातमा रङ परिवर्तन गर्नुको सट्टा सेवा प्रवाह, व्यवस्थापन र गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले बसको रङ नीलो, रातो, सेतो, कालो, खैरो वा हरियो जे भए पनि त्यो केवल बाह्य रूपको परिवर्तन मात्र हुने टिप्पणी गरेका छन्।

उनका अनुसार वास्तविक आवश्यकता सार्वजनिक यातायातको संरचना, व्यवस्थापन र सेवा गुणस्तरमा सुधार ल्याउनु हो, जसले सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न सहयोग पुग्नेछ। ‘रङ नीलो होस् या रातो, सेतो होस् या कालो, खैरो होस् या हरियो यो केवल रूपमा परिवर्तन मात्र हो,’ उनले लेखेका छन्, ‘खाँचो त सार्वजनिक यातायात र सडकको सेवा, व्यवस्थापन र गुणस्तरमा परिवर्तन हो, जसले वर्षेनी हुने सडक दुर्घटनाबाट हजारौँ नागरिकको ज्यान जोगाउन सकोस्।’

उनले सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या घटाउन राज्यले ठोस नीति अपनाउनुपर्नेमा जोड दिएका छन्। साथै, यातायात व्यवस्थापन सुधार गरेर यात्रा समय घटाउने, खर्च कम गर्ने र सुरक्षित तथा प्रभावकारी यातायात प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।

भट्टराईले सडकलाई ‘मृत्यु मार्ग’ बाट ‘जीवन मार्ग’ मा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै राज्यले रूपभन्दा सारगत सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।