बैतडीमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते

User Image Prime TV News २ हप्ता अगाडि
Image of बैतडीमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते

काठमाडौ। कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ।

दुर्घटनामा हालसम्म १६ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ स्थित गैराखान क्षेत्रमा सडकबाट करिब २०० मिटर तल खसेको हो।

घटनास्थलमा रहेका वडाध्यक्ष हरिश विष्टका अनुसार दुर्घटनापछि १६ जना घाइतेको उद्धार गरिएको छ। घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने र अन्य यात्रुको खोज तथा उद्धार कार्य जारी रहेको उनले बताए।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा संयुक्त रूपमा उद्धार कार्यमा खटिएका छन्। बसमा कति यात्रु सवार थिए, दुर्घटनाको कारण के हो तथा घाइतेहरूको अवस्था कस्तो छ भन्ने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।