कांग्रेस देउवा समूहले राष्ट्रिय भेला बोलाउने, सम्पर्क कार्यालय साउन २२ गते उद्घाटन हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।
सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको समूहले अब राष्ट्रिय स्तरको भेला गर्ने तयारी अघि बढाएको हो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। यद्यपि भेलाको मिति भने अझै तय गरिएको छैन।
बैठकपछि नेता डा. प्रकाशशरण महतले समूहको १५औँ महाधिवेशन सम्पर्क कार्यालय साउन २२ गते महाराजगञ्जमा औपचारिक रूपमा उद्घाटन गर्ने र त्यसपछि बस्ने बैठकले राष्ट्रिय भेलाको मिति निर्धारण गर्ने जानकारी दिए। उनका अनुसार सम्पर्क कार्यालय उद्घाटनसँगै आगामी महाधिवेशनलाई लक्षित गतिविधि र संगठनात्मक रणनीतिबारे पनि छलफल गरिनेछ।
शुक्रबारको बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउँद, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे, मोहनबहादुर बस्नेतलगायतका नेताहरू सहभागी थिए।







