अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
शुक्रबार बिहान मियामी रङ्गशालामा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ गोलअन्तरले पराजित गर्दै अर्को चरणमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसको ११ मिनेटपछि केप भर्डेका सिड्नी काब्रालले गोल गर्दै खेललाई फेरि २–२ को बराबरीमा ल्याए।
खेल पेनाल्टी सुटआउटतर्फ जान लागेका बेला १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान बनायो। अब क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टको सामना गर्नेछ।







