कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। आवश्यक कानुनी प्रक्रिया र शव परीक्षणपछि शव परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको थियो। कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा पाँच जनाभन्दा बढी यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। घटनाको यथार्थ विवरण संकलनका लागि सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।







