ई–७ भिसामा दक्षिण कोरिया जान नेपाली श्रमिकका लागि बाटो खुल्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामार्फत रोजगारीको अवसर पर्खिरहेका नेपाली सीपयुक्त श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ।
मन्त्रालयले ई–७ भिसामा सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको हो।
परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन, कोरियाली दूतावासको कूटनीतिक नोट तथा उच्च अदालत पाटनको आदेशलाई आधार मानेर मन्त्रालयले यो निर्णय गरेको जनाएको छ।
अब ई–७ भिसामार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकलाई वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनअनुसार मात्रै पठाइनेछ। यसका लागि दक्षिण कोरियास्थित नेपाली कूटनीतिक नियोगबाट रोजगारदाताको मागपत्र प्रमाणीकरण गराई सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले असार १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ। साथै, वैदेशिक रोजगार विभागलाई आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिइएको छ भने सियोलस्थित नेपाली राजदूतावासलाई पनि यसबारे जानकारी गराइएको छ।
लामो समयदेखि कानुनी तथा प्रक्रियागत अन्योलका कारण रोकिएको ई–७ भिसामार्फत दक्षिण कोरियामा रोजगारीको प्रक्रिया अब व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।







