वर्तमान सरकार ‘चटक’को भरमा बनेको हो: केपी ओली
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही भाष्य’ निर्माण गरी घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिको एमालेले दृढतापूर्वक सामना गर्ने बताएका छन्।
शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई अलोकप्रिय बनाउने उद्देश्यले विभिन्न भ्रमपूर्ण प्रचार गरिएको दाबी गरे। उनले यस्ता गतिविधिविरुद्ध पार्टी एकताबद्ध भएर उभिनुपर्ने बताए।
अध्यक्ष ओलीले वर्तमान सरकार ‘चटक’को भरमा बनेको टिप्पणी गर्दै यही शैलीका कारण सरकार लामो समय टिक्न नसक्ने दाबी गरे।
सुकुम्बासी व्यवस्थापनका विषयमा उनले आफू नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको बेला अदालतले सम्बन्धित आयोग खारेज गरेपछि प्रक्रिया रोकिएको बताए। त्यसबारेको वास्तविकता जनतासामु प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्नु पार्टीको कमजोरी भएको उनले स्वीकार गरे।
आफूमाथि हुने आलोचनाबारे प्रतिक्रिया दिँदै ओलीले ५७ वर्षदेखि जेल, संघर्ष र राजनीतिक यात्रामार्फत पार्टी निर्माणमा निरन्तर लागेको उल्लेख गरे। पार्टीको नेतृत्वमा रहेकाले सफलता र असफलता दुवैको जिम्मेवारी आफूले लिने तर पार्टी सफल हुँदा सबैले श्रेय लिने र चुनौती आउँदा सबै दोष अध्यक्षमाथि मात्र थोपर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले लोकतन्त्रविरोधी र देशविरोधी गतिविधि बढाउन खोजिएको आरोप लगाउँदै समाजमा फैलाइएका भ्रम र अन्योल चिर्न पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ सक्रिय रूपमा पुग्न निर्देशन दिए।







