देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

User Image Prime TV News २ हप्ता अगाडि
Image of देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदरभन्दा दक्षिण र पश्चिमी क्षेत्रमा सरदर स्थानको आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, मधेस प्रदेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।

हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ।

रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।