तेहरानमा खामेनीको अन्त्येष्टिमा जनसागर, तीन दशकभन्दा लामो शासनकालको अन्त्य
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी हुन राजधानी तेहरानमा लाखौँ सर्वसाधारणको उपस्थिति रहेको छ ।
अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा निधन भएका खामेनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न देशभरबाट मानिसहरू तेहरान पुगेका छन्।
इरानका सर्वोच्च नेता खामेनीको गत फेब्रुअरी २८ मा तेहरानस्थित निवासमा भएको अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो। ८६ वर्षको उमेरमा उनको निधनसँगै साढे तीन दशकभन्दा लामो नेतृत्वको अन्त्य भएको छ।
सन् १९३९ मा इरानको उत्तरपूर्वी सहर मशहदमा जन्मिएका खामेनी सन् १९७९ को इरानी क्रान्तिअघि राजतन्त्रविरोधी आन्दोलनका प्रमुख अनुहारमध्ये एक थिए। क्रान्तिपछि उनी सन् १९८१ देखि १९८९ सम्म इरानको राष्ट्रपतिमा रहे।
सन् १९८९ मा रुहोल्लाह खोमेनीको निधनपछि खामेनी इरानको सर्वोच्च नेतामा निर्वाचित भएका थिए। नेतृत्वकालमा उनले इरानको सैन्य तथा अर्धसैनिक संरचनालाई सुदृढ बनाउनुका साथै राष्ट्रिय सुरक्षा रणनीतिलाई विस्तार गरेका थिए।
उनको शासनकालमा विभिन्न राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरू देखा परेका थिए। पछिल्ला वर्षहरूमा आर्थिक संकटका कारण देशव्यापी विरोध प्रदर्शनसमेत भएका थिए।
यसैबीच, डोनाल्ड ट्रम्पले खामेनीको अन्त्येष्टि अवधिभर कुनै पनि पक्षबाट सैन्य आक्रमण नहुने बताएका छन्। उनले अन्त्येष्टि प्रक्रिया सम्पन्न भएपछि इरानसँग वार्ता पुनः अघि बढाइने पनि उल्लेख गरेका छन्।







