सरकारको वास्तविक परीक्षा अब कार्यान्वयनमाः उपेन्द्र यादव

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारको वास्तविक परीक्षा अब कार्यान्वयनमाः उपेन्द्र यादव

काठमाडौ ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रारम्भिक प्रयासका रूपमा व्याख्या गरेका छन्।

उनले सरकारको वास्तविक मूल्याङ्कन नीति र निर्णयको प्रभावकारी कार्यान्वयन तथा त्यसबाट नागरिकको जीवनमा आउने परिवर्तनका आधारमा हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको सय दिने कार्यको समीक्षा गर्दै यादवले भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, सुशासन प्रवर्द्धन र राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासलाई सकारात्मक सुरुआत भनेका छन्।

उनका अनुसार सरकारले तत्काल लोकप्रिय कार्यक्रमभन्दा शासन प्रणाली सुधारलाई प्राथमिकता दिएको छ। यद्यपि, अहिले नै सरकार सफल वा असफल भएको निष्कर्ष निकाल्न हतार हुने उनको भनाइ छ। सरकारका नीति र सुधारले व्यवहारमा कस्तो परिणाम दिन्छन् भन्ने आधारमै दीर्घकालीन मूल्याङ्कन गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले नेपालले विगतका राजनीतिक अनुभवबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन्। राजतन्त्रको अन्त्यपछि समावेशी, धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा ठूलो आशा जागे पनि ती अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको उनको निष्कर्ष छ।

उनले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, आर्थिक व्यवस्थापन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र राजनीतिक स्थायित्वजस्ता क्षेत्रमा अझै गम्भीर चुनौती रहेको बताएका छन्। साथै, राजनीतिक दलहरूमा वैचारिक स्पष्टता, सिद्धान्तप्रतिको प्रतिबद्धता र उत्तरदायित्व कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।

यादवले समावेशी लोकतन्त्र, समान अवसर, सामाजिक न्याय र सहभागितामूलक विकासलाई सुदृढ बनाउनु अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताएका छन्। मधेसी, आदिवासी/जनजाति, दलित, महिला, थारू, मुस्लिम, ओबीसी, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायको सम्मानजनक सहभागिता र सशक्तीकरण सुनिश्चित गर्न सके नेपालको लोकतन्त्र अझ सुदृढ, न्यायपूर्ण र समृद्ध बन्न सक्ने विश्वास उनले व्यक्त गरेका छन्।