महामन्त्री शर्माको अपिल: विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गर्न आग्रह
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र विशेष महाधिवेशनको मागलाई अघि बढाउँदै महाधिवेशन प्रतिनिधिहरूलाई असोज २४ गतेभित्रै हस्ताक्षर गर्न अपिल गरेका छन्। एक भिडियो सन्देश सार्वजनिक गर्दै शर्माले प्रतिनिधिहरूलाई ढिला नगर्न अनुरोध गरेका हुन्।
उनले भने, "विशेष महाधिवेशनको समर्थन गर्न चाहनुहुन्छ भने २४ गतेभित्र हस्ताक्षर गर्नुहोस्।" शर्माको यो अपिल असोज २६ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकलाई लक्षित गर्दै आएको हो। उनले केही प्रतिनिधिहरूको "केन्द्रीय समिति बसेपछि हस्ताक्षर गर्ने" धारणाप्रति आपत्ति जनाउँदै भने, "लगनपछिको पोते के काम!"
महामन्त्री शर्माले विशेष महाधिवेशन पार्टीको आन्तरिक सुदृढीकरण र विचार पुनःसमीक्षाको अवसर भएको उल्लेख गर्दै भने, "यो प्रक्रिया पार्टीलाई अझ बलियो बनाउने दिशामा एक ठोस कदम हुनेछ।"
पार्टीभित्र केही समयदेखि विशेष महाधिवेशनको माग उठ्दै आएको छ। महाधिवेशनको तयारीका लागि आवश्यक हस्ताक्षर संकलन भइरहेको छ, जसमा निर्धारित समयसीमाभित्र प्रतिनिधिहरूको सक्रिय सहभागिता आवश्यक हुने शर्माको भनाइ छ।







