अर्थ मन्त्रालयको १०० दिन: कानुनी सुधारदेखि सेवा प्रवाह र लगानी सम्झौतासम्म
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारको सय दिन पूरा भएको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिमा भएका उपलब्धिहरू सार्वजनिक गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालयले अर्थतन्त्रलाई गति दिन र सुशासन सुदृढ गर्न बृहत् आर्थिक तथा कानुनी सुधारको मार्गचित्र अघि सारेको जनाएको छ। यस अवधिमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार १५ वटा कानुन खारेज गर्ने निर्णय कार्यान्वयन सुरु गरिएको छ। त्यस्तै, राजस्व अनुसन्धान विभाग खारेज गरी यसको संगठनात्मक पुनर्संरचना गरिएको उल्लेख छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधनमार्फत पुँजीगत रकम रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई प्रत्यायोजन गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/८४ का बजेट, आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस गरिएको छ।
सेवा प्रवाह सुधारतर्फ देशका १२० वटा स्थानीय तह र कम्पनी रजिष्ट्रार कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। आन्तरिक राजस्व र भन्सार विभागमा अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरिएको छ।
पेट्रोलियम मूल्य वृद्धिबाट प्रभावित जनतालाई राहत दिन भन्सार महसुल र पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिइएको छ। बीमा र धितोपत्र क्षेत्रमा देखिएको ठूलो वित्तीय अनियमिततासम्बन्धी अनुसन्धान अघि बढाउँदै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको तथा नेपाललाई ग्रे–लिस्टबाट बाहिर निकाल्ने प्रयास भइरहेको पनि मन्त्रालयले जनाएको छ।
सरकारी बैंक तथा नियामक निकायहरूमा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै, सरकारी निकायमा मितव्ययिता कायम गर्न इन्धन सुविधामा कटौती गरिएको छ। मन्त्रालयले विश्व बैंक, एशियाली विकास बैंक र जापानलगायत दातृ निकायसँग अर्बौँ रुपैयाँ बराबरका ऋण तथा अनुदान सम्झौता गरेको छ।
यी परियोजनामा डिजिटल ट्रान्सफर्मेसन, ग्रेटर लुम्बिनी क्षेत्र विकास, नागढुंगा सुरुङमार्ग र दिगो तथा समावेशी वित्तीय कार्यक्रम समावेश छन्। त्यस्तै, गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनीको विस्तृत लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ।







