सरकारमाथि प्रश्न गर्न डराए लोकतन्त्र कमजोर हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सरकारको कामकारबाहीमाथि तथ्यका आधारमा प्रश्न उठाउनु नागरिक र सञ्चारमाध्यमको अधिकार भएको बताएका छन्।
नेपाल पत्रकार महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको जिम्मेवारीमाथि उठ्ने प्रश्न तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गरे। सरकारमाथि प्रश्न गर्न डराउने अवस्था सिर्जना भए लोकतन्त्र कमजोर बन्दै जाने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले वर्तमान समयमा समाचार, भ्रामक सूचना (मिसइन्फर्मेसन), जानाजानी फैलाइने गलत सूचना (डिसइन्फर्मेसन) र प्रमाणिक समाचारबीच स्पष्ट भिन्नता छुट्याउन आवश्यक रहेको बताए। उनले सञ्चारमाध्यमले सत्य, विश्वसनीय र प्रमाणमा आधारित सामग्री प्रकाशन तथा प्रसारणमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको बताए। साथै, कुनै संवैधानिक अधिकारको कार्यान्वयनमा समस्या आए त्यसको समाधानका लागि कानुनी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा उनले पत्रकारिता र राजनीतिसहित सबै क्षेत्रले जिम्मेवारी र जवाफदेहितालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।







