शहरी विकासतर्फका ५१ आयोजना रुग्ण, कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले साविकको शहरी विकास मन्त्रालय अन्तर्गतका ५१ वटा आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ।
ती आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहीन लगानीका समस्या समाधानका लागि अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पारिएको सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विभाग तथा कार्यालयमा पठाइसकिएको छ।
शहरी विकास क्षेत्रका रुग्ण आयोजनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत पठाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पहिचान गरिएका ५१ वटै आयोजनाको हालसम्मको अद्यावधिक प्रगति विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ। साथै, ठेक्का सम्झौतापछिको व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जनको मस्यौदा पनि मन्त्रालयमा पेश भएको छ।
रुग्ण आयोजना तथा प्रतिफलविहीन लगानीको औचित्य, निरन्तरता र व्यवस्थापनबारे सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार गर्ने काम पनि जारी रहेको मन्त्रालयले जनाएको छ। यसैबीच, आयोजना छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई डिजिटल माध्यमबाट अनुगमन गर्न करार अनुगमन प्रणाली लागू गर्ने तयारी गरिएको छ।
मन्त्रालयका अनुसार यससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ। मन्त्रालय मातहतका निकायका एक हजार १७३ वटा ठेक्काको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरिएको छ। बाँकी ठेक्काका सम्झौता, कार्य प्रगति, भुक्तानी, भेरिएसन आदेश तथा माइलस्टोनसम्बन्धी विवरण प्रणालीमा समावेश गर्ने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
भेरिएसन आदेशलाई डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने तथा भुक्तानीलाई कार्यसम्पादन र माइलस्टोनसँग आबद्ध गर्ने व्यवस्था कार्यान्वयनतर्फ समेत मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ।







