देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

User Image Prime TV News २ हप्ता अगाडि
Image of देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेको छ।

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ।

हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेश प्रदेश, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।