अमेरिकाले अन्तिम संस्कार बहिष्कार गर्न दबाब दिएको इरानको दाबी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले इरानका पूर्वसर्वोच्च नेता अली खामेनेईको अन्तिम संस्कार कार्यक्रममा सहभागी नहुन विभिन्न देशमाथि कूटनीतिक दबाब दिएको छ ।
इरानी समाचार एजेन्सीका अनुसार अमेरिकी दबाबका कारण कम्तीमा १३ वटा देशले तेहरानमा आयोजित अन्तिम संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका छन्।
तस्निमले मध्य तेहरानस्थित इमाम खुमैनी ग्रान्ड मोसल्लामा भइरहेको समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वासिङ्टनले पछिल्ला दिनहरूमा व्यापक कूटनीतिक पहल गरेको दाबी गरेको छ।
रिपोर्ट अनुसार, मार्को रुबियोले जुन २६ मा अमेरिकी दूतावास र कूटनीतिक नियोगहरूलाई गोप्य निर्देशन जारी गर्दै आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गर्न आग्रह गरेका थिए भन्ने दाबी गरिएको छ।
तस्निमका अनुसार कार्यक्रममा सहभागी हुनुलाई अमेरिकाले आफ्नो हितविपरीतको कदमका रूपमा लिने र त्यसले वासिङ्टनसँगको द्विपक्षीय सम्बन्धमा असर पार्न सक्ने चेतावनीसमेत दिइएको थियो।
साथै, अफ्रिकाका केही देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकी विकास सहायता कटौती हुन सक्ने चेतावनी दिएको पनि रिपोर्टमा उल्लेख छ।
समाचारमा दुई अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै विदेशमन्त्री रुबियोले कम्तीमा पाँच अरब मुलुकका विदेशमन्त्रीसँग यस विषयमा व्यक्तिगत रूपमा छलफल गरेको दाबी गरिएको छ।
तस्निमका अनुसार अमेरिकी दबाबपछि पूर्वी युरोपका तीन, अफ्रिकाका पाँच, फारसको खाडी क्षेत्रका दुई तथा पूर्वी एसियाका दुई देशसहित कम्तीमा १३ देशले आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका छन्।
केही देशले कूटनीतिक माध्यमबाट कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएका थिए भने केहीले तल्लो तहको प्रतिनिधिमण्डल पठाउने प्रस्ताव गरे पनि इरानी अधिकारीहरूले स्वीकार नगरेको दाबी गरिएको छ।
यसैबीच, तेहरानमा अली खामेनेईको शोक तथा अन्तिम विदाइ समारोह जारी छ। आइतबार मध्य तेहरानस्थित इमाम खुमैनी ग्रान्ड मोसल्लामा खामेनेई र उनका परिवारका चार सदस्यको सार्वजनिक अन्त्येष्टि प्रार्थना सम्पन्न भएको बताइएको छ। समारोहमा सहभागी हुन लाखौँ मानिस राजधानी तेहरानमा जम्मा भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।







