ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ : स्वीडेन पहिलो, नेपालको वरीयतामा सुधार

User Image Prime TV News २ हप्ता अगाडि
Image of ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ : स्वीडेन पहिलो, नेपालको वरीयतामा सुधार

काठमाडौ । सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ।

रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्ष स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देश बनेको छ। शीर्ष १० शक्तिशाली पासपोर्टमध्ये नौ युरोपेली देशका रहेका छन्, जसले विश्वव्यापी वरीयतामा युरोपको वर्चस्वलाई पुनः पुष्टि गरेको छ।

यस वर्ष नेपालको पासपोर्ट वरीयतामा भने सुधार देखिएको छ। प्रतिवेदनअनुसार नेपाली पासपोर्ट विश्वव्यापी सूचीमा १६४औँ स्थानमा पुगेको छ, जुन गत वर्षको १६६औँ स्थानभन्दा दुई स्थान माथि हो। ग्लोबल पासपोर्ट इन्डेक्सले केवल भिसा–फ्री यात्रालाई आधार नबनाई १४ वटा सूचकमार्फत पासपोर्टको समग्र शक्ति मूल्यांकन गर्छ।

मूल्यांकनमा भ्रमण स्वतन्त्रतालाई ५० प्रतिशत, लगानीका अवसरलाई २५ प्रतिशत र जीवनस्तरलाई २५ प्रतिशत भार दिइएको छ। यसका लागि विश्व बैंक, विश्व आर्थिक मञ्च तथा दिगो विकास प्रतिवेदनलगायत अन्तर्राष्ट्रिय संस्थाका तथ्यांक प्रयोग गरिएको छ।

प्रतिवेदनअनुसार नेपाली नागरिकले १० देशमा बिनाभिसा वा आगमनमा भिसा (भिसा अन अराइभल) सुविधा पाउँछन्। भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान र सिंगापुर तीमध्ये प्रमुख गन्तव्य हुन्। यद्यपि अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीन, जापानलगायत करिब १०७ देशमा यात्रा गर्न नेपाली नागरिकले अग्रिम भिसा लिनुपर्ने व्यवस्था कायम छ।

दक्षिण एसियाली देशहरूमध्ये भारत १२५औँ, चीन १०४औँ, भुटान १३२औँ, माल्दिभ्स १०७औँ, श्रीलंका १४१औँ, पाकिस्तान १८८औँ तथा अफगानिस्तान १९७औँ स्थानमा रहेका छन्। यस वर्षका शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशमा क्रमशः स्वीडेन, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क (संयुक्त), आयरल्यान्ड, युनाइटेड किङडम, नर्वे र सिंगापुर रहेका छन्। अमेरिका र फ्रान्स ११औँ तथा क्यानडा १३औँ स्थानमा छन्।

प्रतिवेदनले पासपोर्टलाई केवल यात्रा दस्तावेज नभई विश्वव्यापी अवसर, बसाइँसराइ, लगानी र जीवनस्तरसँग जोडिएको महत्वपूर्ण सूचकका रूपमा व्याख्या गरेको छ।