कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकको समय साउन ३ गतेसम्म थप

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकको समय साउन ३ गतेसम्म थप

काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणका लागि समयावधि थप गरेको छ। पार्टीले अब साउन ३ गतेसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता प्रविष्ट गर्न सकिने व्यवस्था गरेको हो।

यसअघि क्रियाशील सदस्यता फाराम वितरण तथा अनलाइन प्रणालीमार्फत विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम मिति असार २० गते तोकिएको थियो। पार्टी मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया पूरा हुन नसकेको तथा नयाँ सदस्यता विस्तारका लागि पर्याप्त सूचना प्रवाह गर्न बाँकी रहेकाले समय थप गरिएको हो।

उनका अनुसार सम्बन्धित जिल्लामा खटिएका प्रतिनिधिहरूको सुझावका आधारमा समयावधि पुनः निर्धारण गरिएको हो। कांग्रेसले सदस्यता अद्यावधिक प्रक्रियामा कुनै समस्या वा गुनासो आएमा जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ। सोही सिफारिसका आधारमा समितिले आवश्यक निर्णय गर्ने जनाइएको छ।

पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर इतर पक्षले असहमति जनाउँदै आएको भए पनि सबै पक्षलाई समेट्ने उद्देश्यले समय थप गरिएको बताइएको छ।