साताको पहिलो कारोबारमै नेप्से २६.२९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत शुक्रबारको ओरालो यात्रालाई निरन्तरता दिँदै नेप्से २६.२९ अंकले घटेर २ हजार ६ सय २७.११ विन्दुमा कायम भएको हो।
सोमबार सेन्सेटिभ इन्डेक्स ३.५३ अंक, फ्लोट इन्डेक्स १.७३ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.३४ अंकले घटेका छन्। बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ।
यस दिन ३५६ वटा कम्पनीका ७५ लाख ४० हजार कित्ता सेयर ४६ हजार २४६ पटक खरिदबिक्री भएका छन्। बजारका सबै १३ उपसमूह राताम्मे बनेका छन्। तीमध्ये व्यापार उपसमूह सर्वाधिक ३.१५ प्रतिशतले घटेको छ। बैंकिङ, वित्त तथा उत्पादन एवं प्रशोधन उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
बजार समग्रमा घटे पनि स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि करिब ११.५ प्रतिशतले बढेको छ। यता थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १३.७९ प्रतिशतले घटेको छ। केही ऋणपत्र र फाइनान्स कम्पनीका सेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।
कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रहँदै ५३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि सेन्ट्रल फाइनान्सको १५ करोड रुपैयाँभन्दा बढी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।







