अविरल वर्षाले जनधनको ठुलो क्षति, ५२ को ज्यान गयो
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । बाढी र पहिरोका घटनामा परी हालसम्म ५२ जनाको ज्यान गएको छ भने ५ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी, पहिरो र चट्याङका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको पुष्टि गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ पहिरोका कारण ३९ जनाको ज्यान गएको छ। पाँचथर, काभ्रेमा एक–एक जना र उदयपुर, धनुषामा दुई–दुई जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा एक–एक जनाले ज्यान गुमाएका छन्।
यसैगरी, रौतहटमा चट्याङ लागेर थप २ जनाको मृत्यु भएको छ। साथै रसुवामा ४ जना र इलाममा १ जना गरी ५ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ। बाढी र पहिरोका घटनामा ४७ जना घाइते भएका छन्। प्राधिकरणले प्रभावित क्षेत्रहरूमा उद्दार तथा राहत कार्य तीव्र बनाइएको जनाएको छ।
सरकारले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै आवश्यक राहत तथा पुनर्स्थापना कार्यमा सबै तहका निकायलाई सक्रिय रहन निर्देशन दिएको छ।












