राहत होइन, सम्मानजनक पुनर्स्थापना चाहियो : कीर्तिपुर होल्डिङ सेन्टरका प्रभावित परिवार

User Image Prime TV News २ हप्ता अगाडि
Image of राहत होइन, सम्मानजनक पुनर्स्थापना चाहियो : कीर्तिपुर होल्डिङ सेन्टरका प्रभावित परिवार

काठमाडौ । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने निर्णय गरेका छन्।

नेपाल सरकार र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारलाई असार २२ गतेभित्र राहतका लागि निवेदन दिन आह्वान गरेपछि प्रभावित परिवारले संयुक्त विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनीहरूले राहत रकमभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। विज्ञप्तिअनुसार होल्डिङ सेन्टरमा बसोबास गरिरहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेका छन्।

प्रभावित परिवारका अनुसार उनीहरूको मुख्य आवश्यकता राहत रकम नभई राज्यले भत्काएको बासको सम्मानजनक व्यवस्थापन हो। वैकल्पिक आवासको व्यवस्था नगरी घर भत्काएर केही रकम उपलब्ध गराउनु दीर्घकालीन समाधान हुन नसक्ने उनीहरूको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “हामीले खोजेको राहत होइन, राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन हो।” उनीहरूले आफूहरू विस्थापित भइसकेपछि उचित पुनर्स्थापना गर्नु सरकारको संवैधानिक, कानुनी तथा नैतिक दायित्व भएको बताएका छन्।

साथै, राहतका लागि निवेदन नदिएको आधारमा कसैलाई धम्क्याउने, दबाब दिने, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा सरकारी सेवासुविधाबाट रोक्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी पनि दिएका छन्।

प्रभावित परिवारले सरकारसमक्ष तीनबुँदे माग अघि सारेका छन्। उनीहरूले राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनर्स्थापनाको योजना कार्यान्वयन गर्न तथा राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाब नगर्न माग गरेका छन्।

विज्ञप्तिमा अधिकार, सम्मान र न्यायपूर्ण पुनर्स्थापनाका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा संघर्ष जारी राख्ने तथा दिगो व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै बसिरहने उल्लेख गरिएको छ।