सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्ला अझै निगरानीमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्ला अझै निगरानीमा

काठमाडौ । देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ सात जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यी चार जिल्लालाई विभागले अझै निगरानीमा राखेको जनाएको छ।

रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको थियो। टोलीले संक्रमित क्षेत्रका पन्छी, अण्डा, दाना तथा अन्य पन्छीजन्य सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए।

संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य क्षेत्रमा निगरानी बढाएका थिए। अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत नियन्त्रणमा लिएर नष्ट गरिएको विभागले जनाएको छ। केही जिल्लामा अवस्था सामान्य बन्दै गएपछि पन्छीको ओसारपसारमा लगाइएको कडाइलाई क्रमशः खुकुलो बनाइएको विभागले जनाएको छ।

उच्च मृत्युदर हुने यो संक्रामक रोग थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिएको प्रवक्ता उपाध्यायले बताए। विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन तथा शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।