गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधार बनाइने छ : गृहमन्त्री सुधन गुरुङ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले गृह प्रशासनलाई परिणाममुखी र नागरिकमैत्री बनाइने बताएका हुन्।
उनले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा गृह प्रशासन सुधारका लागि आफू विभिन्न जिल्लामा पुगेर स्थलगत अनुगमन गरिरहेको जानकारी दिए। “अब गृह प्रशासनको यात्रा कागजी आश्वासन र भाषणमा सीमित रहने छैन। जनताले भुईँ तहमा प्रत्यक्ष अनुभूति गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको ठोस परिणाम देखिनेछ,” उनले भने।
गृहमन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायको भूमिकामा मात्र सीमित नराखी मानवअधिकार, कानुनी शासन र सुशासनका मूल्यअनुरूप थप सुदृढ बनाइने बताए। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा निजी आवास तथा सरकारी भवन पुनःनिर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए।
उनका अनुसार आगामी आर्थिक वर्षमा पुनःनिर्माण कार्य सम्पन्न गर्न अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ। प्राविधिक टोलीको विस्तृत क्षति मूल्यांकन प्रतिवेदनअनुसार जाजरकोट र रुकुम पश्चिममा ४१ हजार २९७ घर पुनःनिर्माण, ११ हजार ९९६ घर रेट्रोफिटिङ तथा २१ हजार ९९४ घर सामान्य मर्मत गर्नुपर्ने अवस्था रहेको उनले बताए।
हाल स्थानीय तथा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत थप लाभग्राहीको पहिचान गर्ने प्रक्रिया जारी रहेको र त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पुनःनिर्माणका लागि बजेट निकासा गरिने उनले स्पष्ट पारे।
विगतदेखि सञ्चालनमा रहेका पुनःनिर्माणका काम अपेक्षित रूपमा सम्पन्न हुन नसकेकोप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कार्यसम्पादनमा गति दिन निर्देशन दिइसकेको जानकारी दिए।
उनले मुलुकमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्दै प्रत्येक नागरिकको जिउधन र स्वतन्त्रताको संरक्षण गृह प्रशासनको मुख्य दायित्व भएको उल्लेख गरे। साथै, गृह प्रशासनलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा स्थापित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए।







